काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पु-याएर विक्री गरिरहेका व्यवसायीहरूलाई QR Code प्रदान गर्ने भएको छ ।

धेरै समयको लकडाउनको कारण एनआईसी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो । ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी QR Code बाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसीले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा QR Code प्रदान गर्ने भएका हो ।

प्रकृयाहरु-

सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना feedback@nicasiabank.comमा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई QR सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।

बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त QR प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।

व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

त्यसपछि बैैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत QR CODE प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त QR CODE स्वयम् प्रिन्ट गरी ग्राहकहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नेछन् ।

कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने QR Standee व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नेछन् । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि QR Standee प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकले २०७६ चैत्र ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकहरूले मोबाइल बैंकिङ्ग (QR Code) बाट समेत प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सक्नेछन् ।