काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशलाई फाइदा हुने गरी गोकर्ण फरेष्ट रिसोर्टसँग भाडा सम्झौता भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा उठेका विषयमा बोल्दै पोखरेलले सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको बताएका हुन्।

रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराए। नेपाल ट्रष्टको कार्यालय र रिसोर्ट सञ्चालक कम्पनी यति होल्डिङ्ग्सबीचको सम्झौता अवधि पाँच वर्ष बाँकी रहेको अवस्थामा रिसोर्टले लगानीसहित नयाँ संरचना बनाउन थालेकाले उसको मागबमोजिम सरकारले ५० वर्षका लागि नवीकरणको निर्णय गरेको थियो।

 उक्त कम्पनीसँग शुरुमा २०६६ वैशाख ५ मा सम्झौता भएको थियो । ट्रष्टको २०७० माघ २६ को निर्णयबाट लिज सम्झौता नवीकरणको निर्णय भएको थियो। ट्रष्टको ऐनमा प्रधानमन्त्रीले तोकेको मन्त्री ट्रष्टको अध्यक्ष हुन सक्ने कानूनी प्रावधानअनुसार आफू ट्रष्टको अध्यक्ष भएको स्पष्ट गर्दै उनले भने 'केही गडबड होला भनेर सचेत गराउनु राम्रो हो तर यसमा यथार्थ र तथ्यबहरु बुझेर कुरा आओस् भन्ने हामी चाहान्छौ। यसमा प्रधानमन्त्री र मेरो नाम जोडेर जे कुरा बाहिर आएका छन्, त्यो सत्य होइन । हामी केही समयपछि उक्त सम्झौताबारे श्वेतपत्र जारी गर्ने तयारीमा छौँ।'

विसं २०७६ वैशाख १० मा रिसोर्टले नयाँ संरचना निर्माणको थालनीसँगै ३० वर्षको लिज अवधि थपका लागि नयाँ भाडादरसहित प्रस्ताव पेस गरेको जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले ट्रष्टले सम्झौता पुनरावालोकनका लागि गठन गरेको कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको बताए। उनले चार्टर एकाउन्टेन्ट संस्था, नेपाल पर्यटन बोर्ड र गोकर्णेश्वर नगरपालिकासँगसमेत फेयर मार्केट भ्याल्यु मूल्याङ्कन तथा वातावरणीय पक्षबारे जानकारी लिइएको पनि स्पष्ट गरे।