मलंगवा - सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

४२ जना यात्रु र ३ जना बस स्टाफ बोकेको ना ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान ३:३० बजे खसेको थियो । बसमा सवार २० जना अहिलेसम्म हराइरहेका छन् भने १६ जनाको जिवितै उद्धार गरिएको छ। 

दुर्घटनामा मृत्यु भएका मलंगवा नगरपालिका ७ का जगरनाथ राय यादव, हरिवनका विनोदप्रसाद उप्रेती, मलंगवाका सुनिल श्रीवास्तव, उनको श्रीमती निमा श्रीवास्तव, स्थान खुल्न नसकेका अजय दास र बिजय कुर्मीको पहिचान भएको प्रहरीले जनाएको छ ।

अझै ३ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक श्रीवास्तव दम्पतीको शव भरतपुर अस्पतालमा र अन्यको शव धादिङको गजुरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। 

बसमा यात्रारत केही यात्रुहरु बगाएको आशंकामा राजमार्ग क्षेत्रका सबै प्रहरी युनिटहरुलाई नदी किनारहरुमा निगरानी बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताए ।