कुलमान घिसिङको रिटमा सुनुवाइ सकियो
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमाथि सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ। न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि मंगलबारदेखि निरन्तर सुनुवाइ भएको हो।
बहस नसकिएपछि मंगलबार र बुधबार रिट हेर्दाहर्दैमा राखिएको थियो। गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।
यसैगरी चार वर्षअघि २०७८ साल साउन ३२ गते विदयुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नियुक्ति खारेजको माग गर्दै हितेन्द्र देव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि पनि सुनुवाइ सकिएको छ। घिसिङ र शाक्यको रिट एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गरेको हो।
तत्कालीन सरकारले तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो।
उनले गैरकानुनीरुपमा आफूलाई हटाएर घिसिङलाई कार्यकारी बनाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका थिए। शाक्यको नियुक्ति बदरको माग गर्दै घिसिङ अदालत पुगेपछि शाक्यले आफूले दायर गरेको रिटमा निर्णय नभएकाले हालको घिसिङको रिटमा सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका छन्।
तर,सरकारले उक्त मुद्दाको टुंगो नलाग्दै शाक्यलाई पुन:कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
फेसबुक पेज Like गर्नुहोस