काठमाडौं - जापानले नेपालमा हालै भएको विनाशकारी विपद्पछि आपत्कालीन राहतदेखि मध्यम तथा दीर्घकालीन पुनःस्थापनासम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटवार्तामा जापानले यस्तो प्रतिबद्धता जनाएको हो ।

भेटमा विदेशमन्त्री मोटेगीले विपद्बाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। उनले विपद् प्रभावितको उद्धार तथा राहतमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए।

मोटेगीका अनुसार जापानले आपत्कालीन राहत सामग्रीसँगै अन्तर्राष्ट्रिय तथा अन्य संस्थामार्फत ३० लाख अमेरिकी डलरको आकस्मिक अनुदान उपलब्ध गराउनेछ। साथै, बेपत्ता व्यक्तिको पहिचानमा सहयोग गर्न विशेषज्ञ टोली तथा डीएनए परीक्षण उपकरणसमेत उपलब्ध गराउने जानकारी उनले दिए।

जापानको सहयोग आपत्कालीन राहतमा मात्र सीमित नरहने बताउँदै मोटेगीले मध्यम तथा दीर्घकालीन पुनःस्थापना र नेपालका आत्मनिर्भर प्रयासमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।

जवाफमा परराष्ट्रमन्त्री खनालले विपद्का बेला जापान सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरे। उनले बेपत्ता विदेशी नागरिक, विशेषगरी जापानी नागरिकको खोज तथा उद्धारमा नेपाल सरकारले कुनै कसर बाँकी नराखेको बताए।

भेटवार्तामा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवबारे समेत छलफल भएको थियो। आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास जापानी विदेशमन्त्री मोटेगीले व्यक्त गरे।