काठमाडौं – निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरी प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

शिल्पाले दिएको निवेदनका आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनीहरुलाई बिहान १० बजे छलफलका लागि प्रहरी परिसरमा बोलाइएको थियो ।

शिल्पाले दिएको शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको हल्ला बाहिर आएको थियो ।  लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्य रुपमा बिबाह भएको थियो । 

अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमान्ले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा पुगेकी थिइन् ।  शिल्पा हाल चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा बसेकी छन् । शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले उठाउने गरेकी छन् ।