काठमाडौं - उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व एमाले वा पूर्व माओवादी भन्ने पक्ष नरहेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । ‘यहाँ एमाले र माओवादी भन्ने पक्ष रहेन’, पोखरेल भने, ‘अब नो मोर माओइस्ट सेन्टर नो मोर युएमएल, हामी नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टी नेपाल भइसकेका छौं।’

पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले नक्सालाई लिएर भारतसँग भइरहेको विवाद गर्न उच्चस्तरीय पहल भइरहेको समेत बताएका छन् ।कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले कुटनैतिक र राजनैतिक हिसाबबाट उच्चस्तरीय पहल गरिरहेको रक्षामन्त्री पोखरेलेको भनाइ छ।

सीमा विवादलाई लिएर भारत सरकारलाई औपचारिक रुपमा नै पत्र पठाएर सरकारले आफ्नो अडान प्रस्ट पारेको समेत पोखरेलले जानकारी दिए । ‘हाम्रो पोजिसनको बारेमा जानकारी दिएर भारत सरकारलाई औपचारिक रुपमै अनुरोध गरेका छौं’, उनले भने ।