काठमाडौं - कतारको जेलमा रहेका १७ जना नेपाली रिहा भएका छन् ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी, कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर आममाफी दिने निर्णय गरेपछि रिहा भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

'उक्त आममाफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक पनि रिहाई हुनुहुँदैछ', दूतावासले भनेको छ, 'रिहा हुनेमा १३ जना लागूऔषध कारोबारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय काटिरहेका थिए ।'

यस्तै, बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल थानीसँग टेलिफोन संवाद गरेका छन् । कुराकानीका क्रममा कतारका प्रधानमन्त्री खालिदले त्यहाँका रहेका नेपालीबारे कुनै चिन्ता नलिन आग्रह गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

'आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।' प्रधानमन्त्री ओलीले भनेका छन्, 'कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो । मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।'