काठमाडौं - आज थप कोरोना भाइरस (कोभिड १९)को संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म ५२ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा.देवकोटाले बताए । उनकाअनुसार अहिले कोशी अस्पताल विराटनगरमा ३१ जना, नारायणी अस्पताल वीरगन्जमा ३ जना, भरतपुर अस्पताल र धनगढीमा एक एक जना गरी कुल ३६ जना उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । 

यस्तै, हालसम्म कोरोना संक्रमणको आशंकामा देशभर पिसिआर र र्यापिड टेस्टबाट कुल ५३ हजार ५३४ जनाको नमुना परिक्षण भएको छ । जसमा पिसिआर विधिबाट १० हजार ४७१ तथा र्यापिड टेस्टबाट ४३ हजार ६३ जनाको नमुना परिक्षण भएको हो । अहिले देशभर आइसोलेसनमा १०६ जना रहेका छन् । उपत्यकामा ८ जना र बाहिर ९८ रहेका छन् ।  रेड जोनमा ३०४ जना रहेका छन् ।