प्रधानमन्त्री डायलासिसका लागि ग्रान्डीमा, मन्त्रिपरिषद बैठक अनिश्चित
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जाँदैछन् प्रधानमन्त्री ओली तेस्रो चरणको डायलासिसका लागि ग्रान्डी जान लागेका हुन् ।
उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनी डायलासिस गर्ने कि मृगौला प्रत्यारोपण गर्ने भन्ने विकल्प कुरिरहेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली डायलासिसका लागि ग्रान्डी अस्पताल जान लागेको र फर्किएपछि मन्त्रिपरिषद बैठक गर्ने तयारी प्रधानमन्त्री कार्यालयले गरेको छ ।
आइतबारकै लागि मन्त्रिपरिषद्को बैठक बोलाइए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण मन्त्रिपरिषद् बैठक अनिश्चित भएको छ । डायलासिस गरेपछि कम्तिमा चार घन्टा आराम गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
शनिबारको नेकपा सचिवालय बैठकमा उनले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । उनले भनेका थिए, ‘मिर्गौलाले दुःख दियो, केही रिपोर्ट आउन बाँकी छ । सबै रिपोर्ट आएपछि डाक्टरले थप निर्णय गर्नुहुनेछ ।’
नेकपाका अध्यक्ष समेत रहेका ओलीको स्वास्थ्यमा सुधार आएपछि अर्को सचिवालयको बैठक बस्ने र उक्त बैठकले उपनिर्वाचनका लागि उम्मेदवारहरुको निर्णय गर्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस