काठमाडौं - भोटेकोशी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि सरकारले स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धारका लागि रातभरि नै प्रयास जारी राखिएको थियो। तर, आइतबार बिहान करिब ४ बजे आयोजनास्थलमा पुनः बाढी आएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह बढेसँगै आयोजना क्षेत्रको किनारमा तीव्र कटानसमेत सुरु भएको जनाइएको छ।

जोखिम बढे पनि सरकारले उच्च सतर्कताका साथ आयोजनास्थलको अवस्था र क्षतिको निरीक्षण गरिरहेको छ। माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउसमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्न हेलिकप्टरमार्फत स्पेशल फोर्स परिचालन गर्ने तयारी गरिएको छ।

पुरिएको भवनसम्म सडक पहुँच अवरुद्ध भएकाले हेलिकप्टरबाट टोलीलाई भवननजिकै उतारेर १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायतका उपकरण निकाल्ने योजना बनाइएको छ।

उद्धार कार्यसँगै आयोजनाको क्षति न्यूनीकरण र महत्वपूर्ण उपकरण सुरक्षित गर्ने कामलाई पनि प्राथमिकतामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।