एजेन्सी - इरानका राष्ट्रपति मसुद पेजेस्कियन र कतारका अमिर तमिम बिन हमाद अल थानीबीच रुसको मस्कोमा भेटवार्ता भएको छ।

ग्यास निर्यात गर्ने देशहरूको मञ्चको शिखर सम्मेलनका क्रममा भएको भेटमा दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानी सरकारी टेलिभिजनका अनुसार भेटमा तेहरान र दोहाबीचको वर्तमान सम्बन्धको समीक्षा गर्दै द्विपक्षीय सहयोग विस्तारका सम्भावनाबारे चर्चा गरिएको थियो। दुवै पक्षले आपसी सम्बन्ध थप मजबुत बनाउने र सहयोगका अवसरको उपयोग गर्नेमा जोड दिएका थिए।

यद्यपि, भेटवार्तामा मध्यपूर्वमा जारी युद्धबारे छलफल भए–नभएको विषयमा इरानी सरकारी सञ्चारमाध्यमले केही उल्लेख गरेका छैनन्।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको युद्धका क्रममा इरानले कतारसहित क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो।

पछिल्ला महिनाहरूमा मध्यपूर्वमा फैलिएको युद्ध अन्त्य गर्न कतारले विभिन्न कूटनीतिक तथा मध्यस्थताका प्रयासमा सहभागिता जनाउँदै आएको छ।