काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम आज पहिलो जितको खोजीमा मैदान उत्रिँदा पोखरा भने जितसहित प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ।

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो। उक्त खेलमा सुदूरपश्चिमको ब्याटिङ चल्न नसक्दा टोली १७।२ ओभरमा ८७ रनमै समेटिएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएका थिए।

८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९।५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो खेलमा ब्याटिङमा कमजोर देखिएको सुदूरपश्चिम आज पोखराविरुद्ध सुधारिएको प्रदर्शन गर्दै जितको खाता खोल्न चाहन्छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने यस सिजनको पहिलो खेल खेल्दैछ। टोलीमा बंगलादेशका अलराउन्डर शाकिब अल हसनसँगै श्रीलंकाका चमिका करुणारत्ने र धनञ्जय लक्षणजस्ता विदेशी खेलाडी छन्।

यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र न्युजिल्यान्डका स्कट कुगेलेइन पनि छन्। यस सिजनको एनपीएलमा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल नोभेम्बर २१ मा हुनेछ।