काठमाडौं - रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई कामदारको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धार गरिएका दुई जनामा सञ्जय साह र कबीर महर्जन रहेका छन्। साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आयोजनाको संरचनामा ठूलो क्षति पुगेपछि सुरुङभित्र कामदारहरू फसेका थिए। आयोजनाका अनुसार सुरुङभित्र ४२ जना कर्मचारी तथा कामदार फसेका थिए।
उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्दै खोज तथा उद्धार अभियान अघि बढाएको थियो। यस क्रममा सुरुङभित्रबाट मानिसको आवाजसमेत सुनिएको थियो।
दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र फसेका अन्य कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई पनि तीव्रता दिइएको छ।

.gif)


