काठमाडौं - लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाई आज पनि हुँदैछ ।

हिजो न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आन्दनमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइ भएको रिटमा बहस नसकिएकाले आजका लागि पेशी तोक्दै ‘हेर्दा हेर्दै’को सूचीमा राखिएको छ । सर्वोच्च स्रोतका अनुसार आज बहस सकेर आदेश आउने सम्भावना छ ।

लोकसेवा आयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि आह्वान गरेको विज्ञापन संविधानले अंगिकार गरेको समावेशी सिद्धान्तअनुसार नभएको जिकिर गर्दै अधिवक्ताहरु जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले रिट दायर गरेका थिए ।

यसैगरी स्थानीय तहमा करार तथा अस्थायीमा कार्यरत १ सय २१ जना कर्मचारीका तर्फबाट जनबहादुर बुढाले पनि रिट दायर गरेका थिए ।

निवेदनमा लोकसेवा आयोग कार्य सञ्चालन निर्देशिका २०६७ को दफा ११ (३०) बमोजिम समानुपातिक समावेशी सिद्धान्तअनुरुप प्रतिशतको आधारमा परिगणना गरी पुनः विज्ञापन आह्वान गर्न माग गरिएको छ ।