काठमाडौं - नेपाल सरकारले पहिलो चरणमा चीनसँग खरिद गरेको कोरोनाविरुद्धको आठ लाख डोज  ‘भेरोसेल’ खोप ल्याएको छ । नेपाल वायु सेवा निगमको  बाइडबडी ए ३३० जहाज शुक्रबार बिहान ८ लाख डोज खोप बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा ८ लाख डोज खोप नेपाल ल्याइएको हो । 

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने बताइएकाे छ । दोस्रो चरणमा खोप लिन निगमकै बाइडबडी असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा  साउन ७ गते पुनः  जहाज नेपालबाट गएर  साउन ८ गते खोप ल्याउने छ । उक्त खरीद गरेर ल्याइने भेरोसेल खोप ६० वर्ष मुनि उमेर समूहका नागरिकलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ। 

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालमा लगाइँदै आएको छ। यसअघि चीन सरकारले अनुदानमा खोप दिएको थियो ।  

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्रा र आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा खोप प्रदान गरिएको छ।