काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’ को संज्ञा दिएका छन्।
जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन्।
उनले परिवर्तनका लागि भएको आन्दोलनमा युवाको ज्यान गएको घटनालाई अत्यन्त पीडादायी क्षणका रूपमा स्मरण गरेका छन्।
‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,’ उनले भनेका छन्, ‘भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्।’
नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि सम्मान व्यक्त गरेका छन्। आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। उनले यस्तो घटना फेरि कहिल्यै दोहोरिन नहुने बताएका छन् ।
उनले नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक दलको कामबारे निरन्तर खबरदारी गर्न पनि आग्रह गरेका छन् । साथै, नागरिकको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
यसैगरी, राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको दाबी गरेका छन्। युवाले सडकबाट उठाएका प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई समयले उभ्याएको लामिछानेको भनाइ छ।

.gif)


