कोरोनाका कारण वाणिज्य बैंकहरुको कर्जा, निक्षेप दुबै घट्यो
काठमाडौं - बैशाख महिनामा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। गत चैतको तुलनामा निक्षेप संकलनको वृद्धिदर थोरै बढेको छ भने, कर्जा लगानी १६ अर्ब रुपैयाँले घटेको छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथाङ्क अनुसार बैशाख महिनाभरिमा बैंकिङ्ग प्रणालीमा ३० करोडले निक्षेप बढ्दा कर्जा लगानी १ करोड रुपैयाँले खुम्चिएको छ। बैशाखमा निक्षेप थोरै बढेको देखिए पनि अघिल्लो महिनाको तुलनामा भने निक्षेप वृद्धिदर ६० प्रतिशतभन्दा बढीले घटेको छ। चैतको अन्तिमसम्ममा बढ्दै गएको निक्षेप संकलन बैशाखको पहिलो साताबाटै ह्वातै घट्न थालेको हो। चैतमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४९ करोड रुपैयाँले बढेको थियो भने कर्जा लगानीमा ४२ करोड रुपैयाँको वृद्धि थियो।
बैशाखको पहिलो साता ११ करोड रुपैयाँले बढेको निक्षेप संकलन दोस्रो साता ८ करोड रुपैयाँले मात्र बढेको थियो। त्यस्तै, तेस्रो साता ९ करोड रुपैयाँले बढेको थियो भने जेठ पहिलो साता ५ करोड रुपैयाँले मात्र बढेको छ। यस अवधिमा स्वदेशी मुद्राको निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ भने विदेशी मुद्राको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घटेको छ।
चैत अन्तिम सातासम्म ३१ खर्ब ८९ करोड रुपैयाँ रहेको निक्षेप संकलन जेठ पहिलो साता आइपुग्दा ३२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो। जसमध्ये ३० खर्ब ८६ अर्ब स्वदेशी मुद्रा निक्षेप रहेको छ भने १ खर्ब ३३ अर्ब विदेशी मुद्रा निक्षेपको भुमिका छ।
बैशाख पहिलो साता २७ वटा वाणिज्य बैंकहरुको कर्जा लगानी ४ करोड रुपैयाँले घटेको थियो। दोस्रो साता एक करोड, तेस्रो साता ४ करोड र जेठ पहिलो साता आइपुग्दा ७ करोड रुपैयाँले घटेको छ।
चैतमा केहि बढेको भए पनि बैशाख लागेदेखि बैंकहरुको कर्जा लगानी लगातार घटेको छ। बैंकहरु चैतमा पनि लकडाउनका कारण नयाँ कर्जा भने जारी गर्न पाएका थिएनन्। मुलक लकडाउनमा गएपश्चात केहि शाखा कार्यालयहरु खोलेर सेवा प्रदान गर्दै आएका बैंकहरुले, गत सातादेखी सबै शाखा कार्यालय खालेर सेवा प्रदान गर्ने प्रयास गरेका थिए। तर, संक्रमीतको सँख्या बढ्दै गएपछि सरकारले लकडाउन थप कडाइ गर्यो। कडाइ गरेसँगै बैकिङ कारोबार पुन: केहि शाखा कार्यालयमै सीमित हुन पुगेका छन्। सोहि कारण निक्षेप र कर्जामा फराकिलो अन्तर देखिएको बैकर एसोसिएशनले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस