काठमाडौं - खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरू नेपाल आयल निगमको मुख्यालय घेराउ गर्न पुगेका छन्।

ग्यासको मूल्य बढाए पनि बजारमा सहज आपूर्ति नभएको भन्दै उनीहरूले शुक्रबार निगमविरुद्ध प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’, 'चुलो क्यारी बालौँ सरकार ?' भन्दै थाल र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए। उनीहरूले बजारमा तत्काल ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।

यसअघि पनि अभाव झेल्दै आएका उपभोक्ताले अहिले समेत सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर  सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए।

त्यसपछि नेपाल आयल निगमले  बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक मार्गमार्फत उपत्यकामा ढुवानी गर्दै आएको छ ।

तर निगमले आपूर्ति सहज भएको दाबी गरे पनि बजारमा ग्यासका लागि उपभोक्ताको लाइन र अभावको अवस्था कायमै छ।

ठूलो संख्यामा सिलिन्डर भित्रिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास नपाउँदा विद्यार्थी, श्रमिक तथा डेरामा बस्नेहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। 

यसअघि खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले  बिहीबार काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेको थियो । त्यसअघि पनि विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा सिलिन्डर बोकेर प्रदर्शन गरेको थियो ।