काठमाडौं - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसद् बैठकमा उपस्थिति अनिवार्य बनाउँदै समूहगत हाजिरी तालिका सार्वजनिक गरेको छ ।
संसद् बैठकमा सांसदहरूको नियमित र प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने उद्देश्यले संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले समूहगत उपस्थिति तालिका सार्वजनिक गरेका हुन् ।
रास्वपाले संसद्का छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
निर्धारित तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको उपस्थिति अनिवार्य गरिएको छ ।
तोकिएको दिन सम्बन्धित समूहका सांसदहरू बैठक सुरु भएदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागिता जनाउनुपर्ने रास्वपाले जनाएको छ ।
पार्टीले खाजा खाने समयसमेत आलोपालो गर्न निर्देशन दिएको छ । त्यस्तै, कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेस हुने समयमा तोकिएका सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपाले सांसदहरूको पूर्ण उपस्थिति अपेक्षित भए पनि व्यावहारिक परिस्थितिलाई ध्यानमा राख्दै शून्य समय र समूहगत आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको जनाएको छ ।



