काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरीय बैंकिंग सेवा प्रवाह गर्दै आएको यस बैंकले यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ ।

विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुृअली मनाएको छ ।

यस बैंकको ३३२औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त ग्राहकवर्ग, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ । यो प्रस्तुति बैंकको वेभसाइट तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत राखिएको व्यहोरा बैंकले जानकारी गराएको छ ।

हरेक त्रैयमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुखकार्यकारी अधिकृत गणेश राजपोखरेलले गरेका छन् ।

बैंकले आफनो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा “सिटिजन्स एक्सटा फिक्स डिपोजिट” निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा १ लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुने बैकले जनाएको छ ।