स्वीस सरकारद्वारा नेपाललाई ३० हजार थान पीसीआर टेष्ट किट सहयोग
काठमाडौं - स्वीट्जरल्यान्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ ।
पीसीआर टेस्ट कीटसहित स्वीस सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत् बिहीबार आइपुगेको हो । स्वीस सरकारका तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ ।
विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । टेस्ट कीट हस्तान्तरण गर्दै स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्त्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताइन् ।
एसडीसीले ४ हजार सेट पीपीई सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी स्वीस सरकारले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस