काठमाडौं - यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुन भित्रिएको जानकारी दिएको हो । हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जाने छ ।

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यद्यपि कहिलेकाहीँ सरदर मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर २८ असोजमा मनसुन बाहिरिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले आज कोशी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताए ।

सरदरभन्दा बढी वर्षा हुने सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।