काठमाडौं - सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत उपस्थित रहेको थियो ।

सोमबार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्तलाई राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार मंगलबार शपथ गराइएको हो ।