तत्काल मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैनः प्रचण्ड
धनगढी - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले मिडियामा चर्चा भएजस्तो तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताए ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ ।’
उनले सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भरपर्ने तर्क गर्दै आफूलाई यस्तो प्रश्न नसोध्न आग्रह गरे । ‘सरकार फेरबदलको कुरा के होरु यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ,’ उनले भने ।
पत्रकारको जिज्ञासा मेटाउँदै उनले आफू पनि पार्टीको एक अध्यक्ष भए पनि त्यसबारे आफूसँग कुनै छलफल नभएको जानकारी दिए । उनले भने, ‘मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’
फेसबुक पेज Like गर्नुहोस