काठमाडौं - मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

मन्त्रालयका अनुसार अहिले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको बारेमा जानकारी लिने काम सुरु भएको छ। 

संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन्। संक्रमित वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र  देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ। 

बृन्दाबन ९ का संक्रमित युवकलाई रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित क्वारेन्टाइनमा १४ दिन  राखेर घर फर्काइएको थियो। उनी कतकत्ता बाट घर आएका थिए।

जनकपुरको ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएपछि उनी वैशाख ६ गते घर गएका थिए। देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेन्टाइनमै बस्दै आएका थिए। उनी दिल्लीबाट वैशाख ४ गते घर आएका हुन्।