मनसुनी वायुको प्रभावले अझै तीन दिन वर्षा हुने
काठमाडौं - मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि बदली रहनेछ ।
प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशका अधिकांश भू–भागमा बदली रहनाका साथै प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । बुधबार पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, बिहीबार पनि यही मौसमी प्रणाली कायम रहने छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौंमा २८ मिलिमिटर वर्षामापन गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस