दुई समूहबीच झडप हुँदा १० जना भन्दा बढी घाइते,१० मोटरसाइकलमा आगजनी
काठमाडौं - रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्तीपुरमा बिहीबार राति दुई समूहबीच झडप हुँदा १० जना भन्दा बढी घाइते भएका छन् ।
जग्गाको विषयमा भएको झडप इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी लीलाराज लामिछाने र सशस्त्र प्रहरी सन्तपुरका डीएसपी दिपेन्द्र विष्टको नेतृत्वमा गएको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । झडपमा घाइते भएहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, झडपका क्रममा दुईवटा घर तोडफोड हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी पनि गरिएको छ ।
प्रहरी स्रोतका अनुसार जग्गाको विषयमा पहिलेदेखि नै रिसइबी रहेको स्थानीय श्रीराम चौधरी र गाउँलेबीचमा झडप भएको हो । सार्वजनिक जग्गा श्रीरामले आफ्नो नाममा बनाएपछि गाउँलेले उनलाई बहिष्कार गरेका थिए । बिहीबार श्रीरामले मोटरसाइकलमा बाहिरबाट युवाहरु ल्याएर मादक पदार्थ सेवन गरी होहल्ला गर्न थालेपछि गाउँलेले प्रतिकार गर्न खोज्दा झडप भएको बताइएको छ ।
घटनामा संलग्नको आरोपमा केहीलाई नियन्त्रणमा लिइएको र सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस