काठमाडौं - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । मंसिर २१ गतेको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भने पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भएपछि बालुवाटारमै बैठक डाकिएको नेकपा निकट स्रोतको भनाई छ । 

तर, आजको बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने सम्भावना भने निकै न्यून रहेको छ । नेकपा स्रोतको अनुसार आजको बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पेश गरेर पारित गर्ने साथै बैठकको नयाँ मिति तय गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूची अघि नबढाउने प्रचलन छ । पूर्व राजदूत समेत रहेका लामाको मंसिर २४ गते राति मृत्यु भएको थियो ।

बैठकले शोक प्रस्ताव पारित गर्ने एजेण्डा बनाउनको लागि ओलीको दूतको रुपमा शंकर पोखरेल पछि सुवास नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले नै प्रचण्डलाई शोक प्रस्तावको बारेमा कुरा गरेको जसमा ओली पनि उपस्थित हुने बताएका थिए । सोही अनुसार बालुवाटारमा बैठक हुन लागेको बताइएको छ ।  प्रचण्डको प्रस्ताव पनि छलफल हुने भएपछि ओली सचिवालय तथा स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै आएक थिए ।