धनगढी - लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी नवराज कार्कीका अनुसार निरन्तर वर्षाका कारण सडक तथा यातायातमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन रोकिएको हो ।
उनका अनुसार सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले छुट्टाछुट्टै सूचना जारी गरी सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । यस अवधिमा पहाडी जिल्लातर्फ जाने तथा पहाडी जिल्लाभित्र चल्ने छोटो र लामो दूरीका सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।
तराईका कैलाली र कञ्चनपुरमा भने तत्काल सवारी आवागमनमा रोक लगाइएको छैन । जोखिम कम रहेको भन्दै यी दुई जिल्लामा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले रोकसम्बन्धी सूचना थाहा नपाई पहाडतर्फ जाँदै गरेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काएको जनाएको छ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।




