काठमाडौं - प्रतिनिधि सभाले चार महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयकमाथि प्राप्त संशोधन प्रस्ताव तथा सैद्धान्तिक छलफलपछि चारवटै विधेयकलाई सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको छ।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले प्रस्तुत गरेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई समेत समितिमा पठाइएको छ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्तुत गरेको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको हो।