काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट निष्कासन गरेको साधारण शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले हिजोबाट उक्त शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गराउन थालेको हो ।

गत शुक्रबार बाँडफाँड गरिएको उक्त साधारण सेयरमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आवेदन परेकामा १ हजार ९ सय ५५ वटा आवेदनहरु रद्द भएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने २० हजार ५ सय ९ जना आवेदकको हात खाली भएको थियो ।

हाल कम्पनीको उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको थियो ।

कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।