काठमाडौं - प्रहरीले भारतको कोठीमा लगेर १५ वर्षीया बालिका बेचेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङलाई १५ वर्षीया बालिका बेचेको आरोपमा पक्राउ गरेको हो । तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठस्थित देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा ती बालिकालाई बेचेको खुलेको छ । त्यस्तै कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको समेत खुल्न आएको छ ।

ती बालिकालाई ०६८ साल माघमा सुनिता तामाङले काठमाडौंको एक होटलमा काम गर्दै गरेको पत्ता लगाई प्रलोभनमा पारेर गाउँमै लगेर पढाइदिने वाचा गरी होटलको कामबाट छुटाएकी थिइन् ।

ती बालिकालाई नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनधन्दामा लगाएको खुलेको छ ।

कोठीमा आउने नेपाली ग्राहकको सहयोगमा ती बालिका उम्किन सफल भएकी हुन् । पीडित बालिकालाई माइती नेपालले नेपाल-भारत सीमाबाट उद्वार गरेको थियो । बालिकाले यही कात्तिक २० गते प्रहरीमा उजुरी दिएपछि तामाङ पक्राउ परेकी हुन् ।

प्रहरीले तामाङमाथि मानव बेचबिखन तथा ओसारपासर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरेको छ । बालिका बेच्ने घटनामा संलग्न शेर बहादुर लामा फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।