उपनिर्वाचनः स्थानीय तहको मनोनयन दर्ता आज हुँदै
काठमाडौं - आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहमा आज (बुधबार) मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ ।
स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कात्तिक २० गते स्थापना भइसकेको छ ।स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ ।
स्थानीय तहका वडाध्यक्ष पदको उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ ।
अध्यक्षरउपाध्यक्षरप्रमुखरउपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ ।
कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
स्थानीय तहको अध्यक्षरउपाध्यक्षरप्रमुखरउपप्रमुखका लागि रु एक हजार पाँच सय र वडाध्यक्षका लागि रु एक हजार धरौटी तोकिएको छ ।
उपमहानगरपालिकाको प्रमुखका लागि रु पाँच लाख ५० हजार, वडाध्यक्षका लागि रु दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि रु दुई लाख, गाउँपालिको अध्यक्ष र उपाध्यक्षका लागि रु तीन लाख ५० हजार र वडाध्यक्षका लागि रु एक लाख ५० हजार प्रचारप्रसारको खर्चसीमा निर्धारण गरिएको छ । स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान भने मंसिर १४ गते नै हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस