काठमाडौं - नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । वीरगन्जको छपकैयास्थित जामे मस्जिदमा आएका तीन भारतीयमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुन: परिक्षणको लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

स्रोतका अनुसार भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो जसमा ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि थप प्रस्टताका लागि राष्ट्रिय प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

पोजेटिभ भएको जानकारी भएसँगै उनीहरुलाई प्रहरीको कडा निगरानीमा नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । 

संक्रमित तीनै जना भारतीय नागरिक हुन् । जसमा २ जना उत्तरप्रदेश र एक जना दिल्लीका रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ । जसमा एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।