काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । पोखरामा आज सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

बंगलादेशले फाइनलमा श्रीलंकालाई २ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाएको थियो।

बंगलादेशका लागि निगर सुल्तानाले २९, सन्जिदा इस्लाम र फातिमा खातुनले समान १५ तथा मुर्शिदा खातुनले १४ रन बनाए। ९२ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो।

श्रीलंकाका लागि कप्तान हर्सिता माधवीले ३२ र लिहिनी अप्सराले २५ रन जोडे पनि आफ्नो टोलीलाई जित दिलाउन सकिनन्। नेपाल भने महिला क्रिकेटमा कास्यमा सिमित भएको छ।