एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य कारबाही तत्कालका लागि स्थगित गरिएको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले आक्रमण रोकिएको उनले शनिबार राति बताएका हुन् ।

ट्रम्पका अनुसार अमेरिका इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार अवस्थामा थियो। तर इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रह र विश्वको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सैन्य कदम केही समयका लागि रोकिएको उनको भनाइ छ।

उनले प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पुनः खोल्ने र इरानको आणविक जोखिम अन्त्य गर्ने व्यवस्था समेटिने दाबी गरेका छन्। सम्झौता सफल भएमा इजरायलले पनि इरानमाथिको आक्रमण रोक्ने ट्रम्पले बताएका छन्।

यसअघि बुधबार अमेरिकाले इरानभित्रका विभिन्न सैन्य लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको ट्रम्पले दाबी गरेका थिए। त्यसपछि भने अमेरिकाले इरानमाथि थप कुनै आक्रमण गरेको आधिकारिक विवरण सार्वजनिक भएको छैन।

अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको दाबी गरेको थियो। विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिने यो जलमार्ग लामो समय बन्द रहँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर परेको छ।

युद्धअघि विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो। होर्मुज जलमार्गमा अवरोध उत्पन्न भएपछि विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुनुका साथै तेल तथा ग्यासको मूल्यमा समेत वृद्धि भएको छ।