सवारी दुर्घटनामा परी अमेरिकामा तीन नेपालीको मृत्यु
काठमाडौं – अमेरिकाको मुसौरी हाईवेमा मंगलबार भएको सवारी दुर्घटनामा एक नेपाली दम्पतीसहित उनीहरूकी छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी सोही परिवारका अरू गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा गोविन्द खनाल, उनकी श्रीमती शान्ता खनाल र छोरी श्रद्धा खनाल रहेका छन् । गोविन्दको घटनास्थलमै र श्रद्धा तथा आमा शान्तालाई अस्पताल लैजानेबित्तिकै मृत घोषणा गरिएको थियो । घटनामा परी गम्भीर घाइते हुनेमा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरी रहेका छन् ।
मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक लाइटमा रोकिएको उनीहरूको सवारीलाई पछाडिबाट आइरहेको पिकअप ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
उक्त परिवार कहिले र कसरी अमेरिका पुगेको हो, उनीहरू नेपालको कुन ठाउँका बासिन्दा हुन्, उनीहरू के प्रयोजनका लागि एउटै गाडीमा सवार थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस