काठमाडौं - नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको छोटो शासनकालमा राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर सङ्कट निम्तिएको दावी गरेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता थापाले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा खतरनाक विचलन देखापरेको बताए।
उनले भने–‘हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ। स्मरण रहोस्, गत भदौमा भएको सत्ता परिवर्तनमा स्वयं दलाई लामाले बधाई–शुभकामना दिएका थिए र भदौको विध्वंसमा टीओबीहरूले अग्रपङ्क्तिमा ताण्डव नृत्य प्रदर्शन गरेका थिए। उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो तथा चेतावनी व्यक्त भएको थियो।’
चीनको आपत्तिपछि नेपालमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन पनि हाल स्थगित गरिएको उनको जिकिर थियो । उनले थपे–‘कतिपय शोधकर्ताहरूले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको दाबी गरेका छन्। कतिपयले त भदौमा लुटिएका हतियारहरू त्यहाँ लुकाइएको समेत आशङ्का गरेका छन्। स्मरण रहोस्, निर्वासित तिब्बतीहरूलाई नेपालको मानवीय आधारमा शरण दिएको हो। उनीहरूलाई राजनीतिक शरणार्थीको रूपमा कहिल्यै मान्यता दिइएको छैन।’
उनले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न आग्रह समेत गरे । पार्टीको प्रमुख नेताको हैसियतले सरकार पुनर्गठन गर्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमा सुधार नआए र सभापति लामिछानेले पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिए।
उनले भने–‘राष्ट्रियता, राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट ७, ४७ र ६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ। निश्चित आउनेछ।’
उनले १०१७ सालमा महेन्द्रतन्त्र आएजस्तै अहिले देशमा बालेनतन्त्र आएको पनि बताए । उनको यो अभिव्यक्तिमा भने सत्तारुण् दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाइन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभाको नियमापत्ति २१ को घ अनुसार आपत्ति जनाइन्। उनले भनिन्–‘संविधानले मौलिक हक भनेर राजनीतिक दल खोल्ने स्वतन्त्रता दिएको छ। राजनीतिक दल कसैको ठेक्का या कसैको केही होइन। नागरिकले मत दिनुभयो, ठाउँमा पुर्याउनुभयो, सरकार निर्माण भयो। यसमा लोकतन्त्रको उपहास हामीले होइन।’
मतदाताले दिएको मतलाई पटक–पटक अपमान गरिएको बताइन्। उनले प्रधानमन्त्री बालेनलाई बालेन्द्रतन्त्र भनेर सम्बोधन गरेकोप्रति आपत्ति जनाएकी हुन् ।

.gif)


