१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज
काठमाडौं-सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् । जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग लगिएको छ । त्यहाँ आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।
४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए । उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।
चार्ल्स शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छन् । जेलमुक्त भएका शोभराज अध्यागमनकै निगरानीमा फ्रान्स नगइन्जेल अध्यागमनकै निगरानीमा हुनेछन् । विभागले उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस