एजेन्सी - रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आज रुसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।”

रुसले युक्रेनमा १५८ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ । वायुसेनाका प्रवक्ता युरी इग्नाटले एएफपीसँग भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्मकै उच्च संख्या’ र एकैपटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।”

रुसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख सहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ । पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई शृंखलाबद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रुस नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममार्फत जारी सन्देशमा भने, “युक्रेनी भूमिमा रुसले बिहान गरेको भीषण आक्रमणमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।”

रुसको रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड क्षेत्रमा १३ क्षेप्यास्त्र प्रहार गरिएको छ । सीमाको उत्तरमा रहेको ब्रायन्स्क, कुस्र्क र ओरिओल र मस्को क्षेत्रमा ३२ ड्रोन खसालिएको छ ।

रुसी सेनाले गएको साता युक्रेनको सैन्य शिविरमा ५० सामूहिक र एउटा ठूलो आक्रमण गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गर्दै तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रसंघका सहायक महासचिव मोहम्मद खियारीले भने, “दुःखको कुरा, आजको डरलाग्दो आक्रमण रुसी महासंघको बढ्दो आक्रमणको शृंखलाको पछिल्लो घटना मात्र हो ।”

रुसी क्षेप्यास्त्र आफ्नो हवाई क्षेत्र भएर गएको पोल्यान्डले जनाएको छ । “सबै कुराले रुसी क्षेप्यास्त्र पोल्यान्डको आकाशमा प्रवेश गरेको संकेत गर्छ, यो पनि छोडियो,” पोल्यान्डको सशस्त्र बलका जनरल स्टाफ प्रमुख जनरल विस्लाव कुकुलाले भने ।

निरन्तर रुसी आक्रमणको सामना गर्दै युक्रेनले पश्चिमी मित्रराष्ट्रहरूलाई सैन्य समर्थन कायम राख्न आग्रह गरिरहेको छ । युक्रेनका राष्ट्रपतिका सहयोगी एन्ड्री येर्माकले किभलाई ‘यो आतंक रोक्न थप सहयोग र शक्तिको खाँचो रहेको’ बताएका छन् ।