काठमाडौं,एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् ।

‘मन की बात’ नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोना भाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताए ।

प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोना भाइरससम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाई थियो । ‘स्वास्थ्यकर्मीहरु नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडाका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,’ उनले भने ।

स्वास्थ्यकर्मीहरुका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताए । विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उहाँहरुले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए । कोरोना भाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस संक्रमित हुने गरेका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतभरी गरेर कुल दुई हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ ।