काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । 

पछिल्लो समय तिक्कतापूर्ण सम्बन्धमा रहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बुधबार साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा पौने दुई घण्टा वान–टू–वान भेटवार्ता भएको थियो । उक्त भेटमा भएका कुराकानीको नेता नेपालले आफू पक्षीय नेताहरुलाई आज ब्रिफिङ गर्न लागेका हुन् । 

यस्तै, प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि भेटवार्ताको तयारी गरिएको छ। हिजोको छलफलमा दुवै नेताले आआफ्नो धारणा मात्रै राखेको र आज फेरि भेटी अहसमतिका विषयहरुमा थप छलफल गर्ने संभावना रहेको स्रोतको भनाई छ । 

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि एमाले पनि एक हुन सकेको छैन । यो बीचमा अध्यक्ष ओलीले नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् भने ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका छन् । यस्तै, नेपाल पक्षले सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।