काठमाडौं - तराई–मधेशमा पछिल्ला दिनहरूमा बढ्दो तनाव र असहज परिस्थितिप्रति चासो व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा छलफल गरेका छन्।

सुनसरीको कप्तानगन्जमा भएको घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव बढ्दै गएको, केही स्थानमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको अवस्थाबीच राष्ट्रपति पौडेलले पछिल्लो परिस्थितिबारे उनीहरूसँग विचार–विमर्श गरेका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा सहभागी सबैले सुनसरी घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालमा सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

छलफलका क्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान विषम परिस्थितिको समाधानका लागि सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकसँग व्यापक समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनले संवाद, विश्वास र सहमतिमार्फत मात्रै तनाव समाधान गर्न सकिने उल्लेख गरेका छन्।