काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो एक बजे केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने स्रोतले जानकारी दिएको छ । पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । त्यसपछि आज बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ । सभापति शेरबहादुर देउवा यो विषय सर्वोच्चमा विचाराधीन रहेको र फैसला कुर्नुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सडक तताउनुपर्नेमा जोड दिएको छ ।

उक्त कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक पनि भनेको छ। गत पुस १३ गते कांग्रेसले प्रधानमन्त्री ओलीको उक्त कदमबारे १६५ वटै निर्वाचन क्षेत्रबाट विरोध गरेको थियो ।