काठमाडौैं - नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बस्ने तय भएको छ । 

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको भोलीपल्ट एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक राखेको हो । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका हुन् । बुधबार बस्ने आयोजक कमिटी बैठकबाट महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुने बताइएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । स्रोतका अनुसार ३ जेठ २०७५ सम्म जो जुन पदमा थिए सोही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् ।