काठमाडौं - नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ ।

नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिएको आरोप लागेका शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका हुन् । बैठकमा अन्य नेतालेसमेत मन्त्री श्रेष्ठको आलोचना गरेका छन् । 

असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई काठमाडौं बबरमहलकी सरस्वती प्रधानले सुरुमा आफ्नो घरको कोठा दिने सहमति गरिसकेर अन्त्यमा जात थाहा पाउनासाथ बहिष्कार गरेकी थिइन्। यसविरुद्ध सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्।

यसपछि महानगरीय प्रहरी वृत्त सिंहदबारले प्रधानलाई पक्राउ गरेको थियो। तर अनुसन्धान जारी रहेकै बेला असार ९ गते शिक्षा मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेर ३ दिनदेखि हिरासतमा रहेकी घरबेटी प्रधानलाई छुटाएनन् मात्र, आफ्नै झन्डावाल गाडीमा राखेर घर पुर्‍याइदिएका थिए ।

मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भैरहेको छ ।