अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिस डेमोक्रेटिकबाट उम्मेदवार चयन
काठमाडौं - अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस आगामी राष्ट्रपति पदका लागि औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन भएकी छिन् ।
ह्यारिसले शुक्रबार दिउँसोसम्म २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।
योसँगै उनले चार हजार डेमोक्रेटिक डेलिगेट्समध्ये उम्मेदवार बन्नका लागि आवश्यक मत कटाइसकेकी छन् । उम्मेदवार बन्न १ हजार ९७६ मत आवश्यक पर्दछ ।बिहीबारबाट सुरु भएको उम्मेदवार छनोटको मतदान सोमबार समाप्त हुनेछ ।
राष्ट्रपति उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । अब उनले नोभेम्बर ५ मा हुने आम चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन् ।
५९ वर्षीया ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्यान्डमा भएको थियो र पार्टीको लगभग २०० वर्षको इतिहासमा पश्चिमी राज्यबाट आउने उनी पहिलो डेमोक्रेटिक उम्मेदवार हुन्।
अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्दै कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट समर्थन पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताइन् ।
फेसबुक पेज Like गर्नुहोस