काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले रोल्पा बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले शोक वक्तव्य जारी गर्दैै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।

उनले घटनाबाट आफू मर्माहत भएको भन्दै विस्फोटमा ज्यान गुमाएकाका शोकाकुल परिवारमा समेवदना प्रकट गर्नुभएको छ । उहाँले विज्ञप्तिमा घटनाबारे सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहेको जानकारी प्राप्त भएको र आफूले समेत समन्वय गरिरहेको उल्लेख गरेका छन् ।

‘यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहन हुनुभएका शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’, मन्त्री पुनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ ।’