काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् । 

आयोगले छलफलका लागि बोलाएपछि ठाकुर पक्षका ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र यादव पक्षबाट यादवसहित महेन्द्रराय यादव, बाबुराम भट्टराईलगायत आयोगको कार्यालय पुगेका छन् । पार्टीको आधिकारिकताका विषयमा दुवै पक्षले दाबी गरेपछि आयोगले दुवै पक्षलाई बोलाएको हो । 

ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि फुटको संघारमा रहेको जसपाका दुवै पक्ष आधिकारिक दाबी गर्दै आयोग पुगेका थिए । 

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । त्यसपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि बाेलाएकाे थियाे ।